Thursday, December 12, 2013

किन बिझाउँछ मंसिर ?????


लेखक 

यो मंसिर महिना हो । हरेक चिजबीचको आ आफ्नै
विशेषता भए जस्तै यसको पनि आफ्नै विशेषता छ हामी माझ । हामीले नेपाली समाजमा आधारित भएर भन्ने हो भने यो महिनाले आफुलाई विवाहसँग जोडिएर परिभाषित गर्ने गरेको छ । अझ भनौँ हामीले त्यसरी परिभाषा गर्ने गरेका छौँ । 

तपाईँ पनि यतिबेला विभिन्न वाहानाले विवाहको रौनकसँग नजिक हुनुभएको होला । हुनसक्छ तपाईँ बेहुला भएर अथवा बेहुली भएर, अथवा बेहुला बेहुलीको परिवार र आफन्त भएर, अथवा निम्तालु भएर । यस्तै विविध साइनो तपाईँको पनि गाँसिएको होला यो मंसिर महिनासँग । 

सबैलाई विवाहको एउटा माहोलसँग जोड्ने भएकोले पनि यो महिनालाई एउटा बेग्लै उमङ्ग थपिदिने महिना भनेर पनि बुझ्छौँ हामी । धेरैलाई जोडी मिलाइदिने महिना हो यो । यसको रुप पक्ष यही नै हो । तर अलि सारमा गएर मनन गर्ने हो भने, यतिमा मात्रै सिमित हुँदैन यो महिनाको विशेषता ।

त्यो किनभने धेरैलाई जोडी मिलाईदिने महिना मात्रै होईन यो । बरु धेरैको जोडी छुटाइदिने महिना पनि हो । मंसिरले जोडी मिलाउँदैन मात्रै, छुटाउँछ पनि । हामीले यतातिर चाहीँ त्यति ध्यान दिन भ्याइरहेका हुँदैनौँ । अक्सर प्रेमीहरु मंसिरमा अत्यधिक तनावमा रहने गर्छन कारण तिनका प्रेमिकाको घरमा लमीको आवतजावत निक्कै नै बढेको हुन्छ । 

केही मान्छेहरु मंसिर आउने बित्तिकै उत्साहित भए जस्तै केही मान्छेहरु भने त्रसित भइरहेका हुन्छन् । साँच्चै भन्नुपर्दा प्रेम गर्नेहरुको परीक्षा नै मंसिर महिना । जब प्रेमिकाले घरमा आफ्नो विहेको कुरा चलेको भनेर लगातार सुनाउँछे तब प्रेमीको तनावको स्केल माथी माथी जाने क्रम शुरु हुन्छ । यो महिना प्रेमकर्ताहरुको लागि परीक्षा चाहीँ कसरी हो भने, त्यो हुँदाखाँदाको प्रेमलाई तहसनहस बनाउन सक्छ यसले । 

त्यो प्रेमको आगामी बाटो कस्तो हुने भन्ने कुरा निर्धारण गर्न सक्ने सामथ्र्य राख्छ यसले । मंसिरले अक्सर महिला मित्रहरुलाई यति धेरै पारिवारिक दबाब थोपर्ने गर्छ की, अधिकांश त अन्तत: आफ्नो प्रेमलाई तिलाञ्जली दिँदै अभिभावकको निर्णय मै आत्मसमर्पण गर्न पुग्छन् । परिवार भित्र विद्रोह गर्न नसकेर बरु आफ्नै इच्छा खुम्च्याउन वाध्य हुन्छन् अधिकांश । 

एउटा अर्को रोचक कुरा के भने, प्रेम गर्नेहरुले मंसिर महिनामा जति भगवानको नाम अरु बेला विरलै लिन्छन् होला । किनकी हामी यस्ता प्रेमकर्ताहरु हौँ, जो आफ्नै सामथ्र्यमा भन्दा बढी भगवान भरोसामा टिकाइरहेका छौँ प्रेम । 

त्यो कसरी भने, हामी अधिकांश प्रेमकर्ताहरु विद्यार्थी जीवन मै छौँ । यो समय भनेको आफु स्वयम परिवारमा आश्रित हुनुपर्ने समय हो । यतिसम्म की आफ्नो मान्छेलाई गिफ्ट दिनुपर्दा आवश्यक पैसा पनि विभिन्न वाहाना बनाएर घरमा माग्नुपर्छ हामी धेरैले । 

यस्तो जीन्दगी बाँचिरहेको मान्छे जब प्रेमिकाले घरमा आफ्नो विहेको कुरा चलेको सुनाउँछे अनि अत्यधिक तनावमा पर्ने गर्छ । प्रेम र विवाह भनेका अलि भिन्दा भिन्दै कुराहरु हुन् । 

प्रेम गर्नका लागि जे जति सामथ्र्य चाहिन्छ त्यो भन्दा धेरै सामथ्र्य विवाहका लागि आवश्यक हुन्छ । जुन अवस्थामा हामी अधिकांश प्रेमकर्ताहरु पुगिसकेका हुँदैनाँै । विवाह गर्नका लागि आवश्यक पूर्वाधार तयार भइसकेको हुँदैन यतिबेलासम्म । 

त्यसैले त यतिबेला जीन्दगीको निक्कै नै जटिल समय गुज्रिरहेको भान भइरहेको हुन्छ अधिकांश प्रेमिहरुलाई । न उसलाई आफुले विवाह गर्न सकिन्छ न अरुले विवाह गरेर लगेको हेर्न सकिन्छ । यतिबेलाको एउटै वाध्यकारी अवस्था भनेको भगवान भरोसा नै हो । 

मनमनै आ आफुले पुज्ने देवतालाई जप्दै बस्नुपर्ने हुन्छ यतिबेला । जबसम्म भगवान भरोसे प्रेम गर्ने अवस्थाबाट हामी माथी उठ्दैनौँ त्यतिबेलासम्म त्यो प्रेमले विवाहको रुप धारण गर्ने कुरामा शंका उत्पन्न भइरहन्छ । तर एउटा सत्य चाहीँ के हो भने हामी अधिकांश यही भगवान भरोसे प्रेम गरिरहेका छौँ अहिले । त्यसो गर्नु वाध्यता पनि हो धेरैको । 

म त अहिले प्रेम गर्दिनँ भन्नु पनि आफैलाई ढाँट्नु मात्रै हो । किनभने प्रेम यस्तो चिज हो जुन गर्छु भनेर हुँदैन तर गर्ने मन चाहीँ लागिरहन्छ फेरी । हो, मन चाहीँ भइरहन्छ प्रेम गर्ने ।

कसैले आफुलाई अरुभन्दा फरक देखाउन “मलाई त प्रेम भन्ने कुरा नै वाहियात लाग्छ, म त गर्दिन प्रेम” भन्न त सक्ला तर अरुले विश्वास गर्न चाहीँ सकिँदैन । विश्वास गर्न सकिने कुरै हैन यो । हरेकको मनमा एउटा न एउटा मान्छेको आकृति कुँदिएको हुन्छ । 

अझ भनौँ हरेकले आफ्नो मनमा गोप्यसँग राखेको हुन्छ, मेरो पनि कोही मनको मान्छे भइदिए नि हुन्थ्यो भन्ने सोँच । कोही देखाउँछन्, कोही लुकाउँछन्, फरक यति मात्रै हो । 

प्रेमि अथवा प्रेमिकाको विहेको कुरा चल्दा मनमा भूकम्पको धक्का महसुस किन हुन्छ त हामीलाई ? किन छट्पटी छट्पटी मात्रै भइरहन्छ त ? सोझो अर्थमा बुझ्दा आफुले यति धेरै माया गरेको मान्छे अब आफुबाट अलग्गिन्छ भनेर नै हो मनमा औडाहा हुने । तर सत्य यही भएपनि, यही मात्रै चाहीँ होईन । कहिलेकाहीँ सत्यता भित्रका कारक तत्वहरु झन् बढी रुचीकर हुन्छन् । यहाँ पनि त्यस्तै हुन्छ । 

पहिलो कुरा, जब हामी कसैसँग प्रेम सम्बधमा हुन्छौँ र त्यो सम्बन्धमा दुवै इमान्दार छन् भने सामान्यतया उनीहरु एकअर्कासँग विवाह गर्ने सपना लिएर बसेका हुन्छन् । यसो भन्नुको अर्थ के पनि हो भने, त्यो सम्बन्धको उत्कर्ष भनेकै आफुहरु श्रीमान श्रीमती बन्नु हो । 

प्रेम गरिरहँदा हामीलाई आफुले प्राप्त गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण र अन्तिम वस्तु नै प्रेमी अथवा प्रेमिका हो भन्ने लाग्छ । त्यो किनभने, त्यो सम्बन्धमा हाम्रो एकखाले स्वार्थ जोडिएको हुन्छ । उसैसँग विवाह भयो भने चाहीँ आफ्नो जीन्दगी सँधै खुशीसाथ बिताउन पाइन्छ भन्ने स्वार्थ । विवाह भइहाल्यो भने पनि ठ्याक्कै त्यस्तै सँग त बित्दैन जीन्दगी, तरपनि विहेपूर्व सबैले सोँच्ने कुरा चाहीँ त्यही नै हो । 

एउटी आमाले आफ्ना सन्तानलाई गर्ने मायालाई अपवाद मानेर कुरा गर्नुपर्दा एउटा साश्वत सत्य के हो भने, हामी सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छौँ । हो, आफैलाई माया गर्छौँ हामी । यतिसम्म की आफुलाई कसैको माया चाहिएर नै उसलाई पनि माया गरिदिन्छौँ हामी । नत्र त आफुले माया गरिरहे भइगयो नि किन उसले पनि आफुलाई माया गर्नैैपर्छ भन्ने मान्यताबाट निर्देशित हुन्छौँ त हामी । 

अनि आफुलाई माया गर्ने त्यो मान्छे पनि विस्तारै आफ्नै अभिन्न अंग जस्तो भइसकेको हुन्छ । अर्थात उ बिनाको आफ्नो जीवन नै अपूर्ण जस्तो लाग्ने भइसकेको हुन्छ हामीलाई । जब आफुलाई माया गर्ने मान्छेको विहेको कुरा चल्छ नि, त्यतिबेला हामीलाई आफ्नो सबैभन्दा ठुलो सम्पत्ति कसैले लुट्न लागेको आभाष हुन्छ । 

अनि हामीलाई अत्यधिक तनाव हुनेगर्छ । किनभने उ आफुबाट टाढा जानु भनेको एकजना व्यक्ति मात्रै टाढा हुनु नभएर आफ्ना सपनाहरु एकैपटक स्वाहा हुनु हो, जुन सहन निक्कै नै सकस हुन्छ हामीलाई । 

अनि अर्को कारण चाहीँ के पनि हो भने, हामी आफुलाई निक्कै नै मुल्यवान चिज आफुबाट खोसिएकोमा भन्दा बढी त्यो अरुले पाएकोमा दुखी हुन्छौँ । परापूर्व कालदेखी चलिआएको मानवीय स्वभाव नै यही हो । प्रेम सम्बन्धमा पनि यही कुरा लागु हुन्छ । 

उ आफु सँग छुट्टिने कुराले भन्दा अर्काको बन्ने कुराले धेरै पिडा दिन्छ हामीलाई । उसले आफुसँग देखेका सपना नष्ट भयो भनेर मात्रै सोँच्दैन मान्छेले । बरु उसले आफुसँग जे जे सपना देखेको थियो अब त्यो सपनाको अंशबाट उसले आफुलाई निकालेर त्यो ठाउँमा अर्को व्यक्तिलाई राख्छ र सपना साकार बनाउँछ भन्ने कुराले चाहीँ भत्भती पोल्न थाल्छ । आफ्नो सन्तान फेल भएकोमा भन्दा छिमेकीको सन्तान पास भएकोमा चित्त बढी चित्त दुखाउने स्वभाव जो हुन्छ मान्छेको । 

मंसिर महिनाले प्रेमकर्ताहरुलाई यति धेरै तनाव दिएको हुन्छ की उनीहरु कहिले यो महिना सकिएला भन्ने सोँचेर बसिरहेका हुन्छन् । जब कारक तत्व आन्तरिक भन्दा ज्यादा बाह्य भइदिन्छ अनि परिणाम हाम्रो बशमा हुँदैन । हामी त त्यो परिणाम स्वीकार्नैपर्ने परिस्थितिको दास मात्रै हुन्छौँ त्यतिबेला ।

लेखक महावीर विश्वकर्मा रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम 'वहकिने मन'का प्रस्तोता हुनुहुन्छ । 



 

No comments:

Post a Comment

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...